नियम
बीमा गर्ने तरीका

हुलाक वस्तुहरू बीमा गर्दा देहायबमोजिम गर्नुपर्छः–

(क) हुलाक महसुल र रजिष्टरी शुल्कको अतिरिक्त नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बीमा दस्तूरको अग्रीम चुक्ती हुलाक टिकट टाँसी गर्नु पर्दछ,
(ख) प्रत्येक बीमा वस्तु छाप नफुटाइकन वा बेसाबूत वा अस्पष्ट चिन्ह नरहने किसिमसंग खोल्न नसकिने गरी र सफा स्पष्ट बुझिने गरी एकै रङ्गको सफा लाहाद्वारा एकै ढाँचाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा राम्ररी बन्द गरिएको हुनु पर्दछ । रूपैयाँ पैसाको वा सोझो बाँगा काटिएका रेखा भएको छाप हुनु हुँदैन,
(ग) खाम कालो वा अरू कुनै किसिमको रङ्गीन किनारा भएको वा भित्रको वस्तुको कुनै अंश कतैबाट देख्न र चिन्न नसकिने गरी बनेको हुनु पर्दछ,
(घ) खाम बन्दी गरी टाँसिने प्रत्येक जोडनीमा छाप लागेको हुनु पर्दछ, खाममा धागोको टाँका मारी वा फित्ता बाँधी जहाँ गाँठो पर्दछ त्यहाँ लाहाछाप लगाएको हुनु पर्दछ,
(ङ) खाममा हुलाक अड्डाको लेबल टाँस्ने तथा अन्य चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्दछ

(च) खाममा कुनै केरमेट तथा थपघट नगरी बीमा गरिने मूल्य अङ्क र अक्षरमा स्पष्टसँग बुझिने गरी लेखिएको हुनु पर्दछ,
(छ) प्रेषकको नाम र ठेगाना पाउने व्यक्तिको ठेगाना लेख्ने देब्रेतर्फको तल्लो कुनामा लेखिएको हुनु पर्दछ । खाममा ठाउँ नभए छुट्टै कागजमा लेखी बीमा गरिने वस्तुसाथै दाखिल गर्नु पर्दछ ।
(ज) खाममा बढीमा सवा इञ्च लम्बाई र सवा इञ्च चौडाइसम्मको हुलाक टिकट बाहेक अरू किसिमका आफू खुशी लेबल प्रेषकले टाँस्न सक्नेछ ।